इरानको अमेरिकालाई कडा चेतावनी, हमला भए ठूलो जवाफ दिने दाबी

User Image Prime TV News ४ दिन अगाडि
Image of इरानको अमेरिकालाई कडा चेतावनी, हमला भए ठूलो जवाफ दिने दाबी

काठमाडौ । इरानकोइस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकालाई कडा चेतावनी दिएको छ।

आईआरजीसीले फारसको खाडी वा होर्मुज स्ट्रेटमा इरानका तेल ट्यांकर र व्यापारिक जहाजमाथि हमला भए अमेरिकी सैन्य अड्डा र जहाजमाथि ठूलो आक्रमण गरिने चेतावनी दिएको हो।

इरानी सेनाले आफ्ना मिसाइल र ड्रोन तयारी अवस्थामा रहेको दाबी पनि गरेको छ। आदेश पाएलगत्तै आक्रमण गर्न सकिने चेतावनी इरानले दिएको छ।

यसबीच अमेरिकाले इरानसँग वार्ताका लागि १४ बुँदे प्रस्ताव तयार पारेको खबर सार्वजनिक भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रतिक्रियाको प्रतीक्षा भइरहेको बताएका छन्।

इरानले भने अमेरिकी प्रस्ताव अध्ययन भइरहेको र उचित समयमा जवाफ दिने जनाएको छ। इरानले अमेरिकाले दिएको समयसीमा स्वीकार नगर्ने पनि स्पष्ट पारेको छ।

त्यस्तै इरानले होर्मुज स्ट्रेटमा अमेरिका र इजरायलका जहाज प्रवेशमा रोक लगाउने तयारी गरेको खबर पनि आएको छ। अन्य विदेशी जहाजबाट कर उठाउने योजना समेत बनाइएको बताइएको छ।

अमेरिका र इरानबीच तनाव फेरि बढिरहेका बेला दुवै देशबीच अर्को चरणको वार्ता पाकिस्तानमा हुन सक्ने चर्चा पनि भइरहेको छ।