भारतीय विदेश सचिवको नेपाल भ्रमण रोकियो, बालेन सरकारसँग सम्बन्धबारे चासो
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । भारतका विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको चर्चा अहिले कूटनीतिक वृत्तमा भइरहेको छ। यद्यपि, नेपाल र भारत दुवै सरकारले यसबारे औपचारिक जानकारी दिएका छैनन्।
स्रोतहरूका अनुसार मिश्री वैशाख २८ गते नेपाल आउने तयारीमा थिए। उनको भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको निम्ता दिने र नेपालमा विकसित नयाँ राजनीतिक अवस्थाबारे बुझ्ने रहेको बताइएको छ।
भारतले नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्न चाहेको भए पनि बालेनको कार्यशैलीबारे अझै स्पष्ट हुन नसकेको चर्चा छ। भारतीय पक्षले बालेनलाई 'अनुमान गर्न गाह्रो नेता' का रूपमा हेर्ने गरेको कूटनीतिक स्रोतहरू बताउँछन्।
भ्रमणअघि बालेनसँग भेट तय गर्ने प्रयास भए पनि निश्चित हुन नसकेको बताइएको छ। त्यसैले भारतले भ्रमण केही समयका लागि रोकेको हुन सक्ने अनुमान गरिएको छ।
यता लिपुलेक सीमा विवादलाई पनि भ्रमण स्थगितको अर्को कारणका रूपमा हेरिएको छ। नेपालले लिपुलेकबारे आफ्नो धारणा सार्वजनिक गरेपछि भारतले त्यसमा असन्तुष्टि जनाएको थियो।
पछिल्लो घटनाक्रमपछि नेपाल–भारत सम्बन्ध अब कुन दिशामा जान्छ भन्ने विषयमा चासो बढेको छ। केही विश्लेषकले भारतसँगको सम्बन्ध र सीमा विवाद अहिले बालेन सरकारका लागि ठूलो कूटनीतिक चुनौती बनेको बताएका छन्।







