देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रियामा थप कागजात पठाइयो

User Image Prime TV News ३ दिन अगाडि
Image of देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रियामा थप कागजात पठाइयो

काठमाडौ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा विरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रक्रियामा नेपाल प्रहरीले थप कागजात पठाएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले केही विवरण अपुग भएको भन्दै थप कागजात मागेपछि नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले आवश्यक विवरण पठाएको हो। यसअघि गत २४ चैतमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको बताइएको छ। पक्राउ पुर्जी जारी भएसँगै नेपाल प्रहरीले उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको थियो। त्यसका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गर्न औपचारिक अनुरोध समेत गरिएको थियो।

तर, इन्टरपोलले थप प्रमाण तथा कागजात आवश्यक रहेको भन्दै तत्काल रेड नोटिस जारी नगरेको स्रोतको भनाइ छ। देउवा दम्पती भने हाल विदेशमा रहेका छन्। उनीहरू १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ। स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन्।

यदि इन्टरपोलले रेड नोटिस जारी गरेमा सदस्य राष्ट्रहरूले उनीहरूलाई पक्राउ गर्न सक्नेछन्। त्यसपछि कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याउने बाटो खुल्नेछ।