पशुपति क्षेत्रमा तीन वटा ग्रिनेड फेला
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । पश्पति मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकको जंगल क्षेत्रमा तीन वटा ग्रिनेड फेला परेको छ। स्थानीय बासिन्दाले जंगलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।
अवैध घरटहरा हटाइएको क्षेत्रभन्दा केही माथि जंगलमा उक्त वस्तु भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कुशल बुढाथोकीका अनुसार घटनास्थलबाट पुराना तीन वटा ग्रिनेड फेला परेका हुन्। ग्रिनेड फेला परेपछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
नेपाली सेनाको बम डिस्पोजल टोलीलाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।







