कोहलपुरमा सार्वजनिक जग्गा खाली गर्ने अभियान, ४० घरटहरा हटाइयो
Prime TV News ३ दिन अगाडि 
कोहलपुर । बाँकेको कोहोरपुर क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान सुरु भएको छ। नगरपालिकाले डोजर प्रयोग गरेर अवैध रूपमा बनाइएका घरटहरा हटाउन थालेको हो।
नगर प्रमुख पूर्ण बहादुर आचार्यका अनुसार सुकुमबासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिइने तर वास्तविक भूमिहीनको व्यवस्थापन नगरपालिकाले गर्ने योजना छ। वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको करिब ३६ बिघा जग्गामा करिब ७५१ परिवारले घरटहरा बनाएर बसोबास गर्दै आएको पाइएको छ।
नगरपालिकाले दिएको १० दिने अल्टिमेटमपछि शनिबारदेखि डोजर चलाएर हटाउने काम सुरु गरिएको हो। पहिलो दिन करिब ४० वटा घरटहरा भत्काइएको नगर प्रहरीले जनाएको छ। नगर प्रहरीका अनुसार थप डोजर परिचालन गरेर हटाउने काम जारी छ।
हालसम्म ७३ परिवार वास्तविक भूमिहीन सुकुमबासीका रूपमा सम्पर्कमा आएको र उनीहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिएको छ। नगरपालिकाले बस्ती विस्तारका क्रममा नक्कली कागजात बनाउने र जग्गा किनबेच गराउने गतिविधिबारे उजुरी आएको पनि जनाएको छ। नगरपालिकाले वास्तविक भूमिहीन तथा दलितको पहिचानका लागि समिति गठन गरेर तथ्याङ्क संकलन र अध्ययनको काम अघि बढाएको छ।







