एसईई नतिजा चार दिनभित्र सार्वजनिक हुने तयारी

User Image Prime TV News ३ दिन अगाडि
Image of एसईई नतिजा चार दिनभित्र सार्वजनिक हुने तयारी

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले नतिजा छिट्टै सार्वजनिक गर्न आवश्यक सबै प्राविधिक काम पूरा गरिरहेको जनाएको छ।

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार कुनै प्राविधिक समस्या नआएमा अबको चार दिनभित्र नतिजा सार्वजनिक हुने सम्भावना छ। उनले भने, “यो महिनाभित्र नतिजा निकाल्ने तयारी छ, सबै ठीक भए चार दिनभित्र आउँछ।” परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै नतिजा एसएमएस, आईभीआर सेवा र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका थिए। परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ।