विष्णु अग्रवाल विरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ । उनीमाथि नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरेर कर छली गरेको आरोप लगाइएको छ।
उजुरीमा विदेशबाट सवारी साधन आयात गरी नेपालमा बिक्री गर्दै आएका अग्रवालले करोडौ रुपैयाँ बराबरको भ्याट तथा अन्य कर छली गरेको दाबी गरिएको छ। प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमा अग्रवाल र उनीसँग सम्बन्धित कम्पनीहरूको आर्थिक कारोबारमाथि छानबिन गर्न तथा दोषी देखिए कारबाही गर्न माग गरिएको छ।
उजुरी अनुसार २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा समेत अग्रवालको नाम जोडिएको उल्लेख गरिएको छ। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल्सले आयात गरेको फोटोन इभी गाडीमा भन्सार छली गरेको आरोप पनि लगाइएको छ। उजुरीमा भन्सार विभागले करिब ६ करोड रुपैयाँ बक्यौता देखाउँदै रकम बुझाउन पत्राचार गरे पनि हालसम्म भुक्तानी नभएको दाबी गरिएको छ।
यस विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गर्ने तयारी गरेको जनाइएको छ।









