वर्षे अधिवेशनको पहिलो बैठकमै सरकार विरुद्ध विपक्षीको संयुक्त प्रतिवाद तयारी

User Image Prime TV News ४ दिन अगाडि
Image of वर्षे अधिवेशनको पहिलो बैठकमै सरकार विरुद्ध विपक्षीको संयुक्त प्रतिवाद तयारी

काठमाडौ । आजबाट सुरु हुने वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने तयारी गरेका छन्। बैठक दिउँसो २ बजे बस्नेछ।

बैठकमा संवैधानिक परिषद्सम्बन्धी विषय, सरकारले ल्याएका विभिन्न अध्यादेश तथा सुकुमबासी व्यवस्थापनका विषयमा विपक्षी दलहरूले कडा रूपमा आवाज उठाउने तयारी गरेका हुन्। विपक्षी दलका नेताहरूबीच यस विषयमा आन्तरिक छलफल भएको र प्रतिवाद गर्ने विषयमा सहमति बनेको बताइएको छ। उनीहरूका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरू एकमत रहेको दाबी गरिएको छ।

एक सांसदका अनुसार सरकारको कार्यशैलीविरुद्ध संसद्मै विरोध गरिने भए पनि राष्ट्रपतिले संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम भने अवरोध नगर्ने सहमति भएको छ। सोमबार लगातार तीन वटा बैठक बस्ने कार्यतालिका रहेको छ।

त्यसपछि दिउँसो ४ बजे रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। विपक्षी दलहरूले संसद्को प्रारम्भिक चरणमै आफ्नो असन्तुष्टि राख्ने तर नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने रणनीति बनाएको बताइएको छ।