ट्रम्पको चीन भ्रमण : अमेरिका–चीन सम्बन्धका लागि महत्वपूर्ण शिखर वार्ता

User Image Prime TV News ४ दिन अगाडि
Image of ट्रम्पको चीन भ्रमण : अमेरिका–चीन सम्बन्धका लागि महत्वपूर्ण शिखर वार्ता

काठमाडौ । करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आधिकारिक राजकीय भ्रमणका लागि चीन जाँदैछन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार डोनाल्ड ट्रम्प मे १३ देखि १५ सम्म चीन को भ्रमणमा रहनेछन्। यो भ्रमणलाई अमेरिका–चीन सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यो भ्रमण अमेरिका, इजरायल र इरानबीचको तनाव, होर्मुज जलसन्धिसम्बन्धी संकट र विश्व ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको हो। यसअघि मार्चमा तय गरिएको भ्रमण मध्यपूर्वको तनावका कारण स्थगित भएको थियो।

ह्वाइट हाउसकी प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प १३ मे साँझ बेइजिङ पुग्नेछन्। त्यसपछि विहीबार उनलाई औपचारिक स्वागत गरिनेछ र राष्ट्रपति सी जिनपिङ सँग द्विपक्षीय वार्ता हुनेछ। सोही दिन ‘टेम्पल अफ हेभन’ को भ्रमण र राजकीय भोज पनि हुनेछ। शुक्रबार दुवै नेताबीच चियापानसहित थप छलफल र ‘वर्किङ लन्च’ हुने कार्यक्रम छ।

भ्रमणमा एयरोस्पेस, कृषि र ऊर्जा क्षेत्रका केही सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ। ट्रम्पसँगै केही ठूला अमेरिकी व्यवसायीहरू पनि सहभागी हुनेछन्। व्यापारिक तनाव कम गर्न चिनियाँ र अमेरिकी उच्च अधिकारीबीच मे १२ र १३ मा दक्षिण कोरियामा अन्तिम चरणको वार्ता पनि हुँदैछ।

यस भ्रमणमा इरानसँगको तनाव, होर्मुज जलसन्धिको सुरक्षा, ताइवान मुद्दा र हतियार बिक्री प्रमुख एजेन्डा बन्ने देखिएको छ। अमेरिकी पक्षले ताइवान नीतिमा परिवर्तन नहुने स्पष्ट पारेको छ भने चीनले होर्मुज जलसन्धिमाथिको अवरोधप्रति चिन्ता व्यक्त गरेको छ। त्यसैगरी, कृत्रिम बौद्धिकता प्रविधि क्षेत्रमा दुई देशबीच प्रारम्भिक सहकार्यको सम्भावना पनि छलफलमा पर्ने बताइएको छ।