किसानलाई क्रेडिट कार्डमार्फत सहुलियत ऋण दिने सरकारको घोषणा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । सरकारले किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन नयाँ व्यवस्था गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्डमार्फत ऋण दिने योजना समावेश गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानलाई आधुनिक प्रविधि र वित्तीय सेवामा सहज पहुँच दिलाइने बताएका हुन्। सरकारले कृषिमा आधुनिक प्रणाली विस्तार गर्ने, सहुलियतमा बीउबिजन उपलब्ध गराउने र कृषि क्षेत्रमा लगानी बढाउने योजना पनि अघि सारेको छ।
त्यसैगरी विषादीको प्रयोग घटाउन प्रदेश सरकारसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कृषियोग्य जमिन बाँझो रहने समस्या रोक्न वैज्ञानिक तरिकाले जमिन उपयोग गर्ने योजना पनि सरकारले ल्याएको छ।
महिला, भूमिहीन तथा साना किसानलाई प्राथमिकतामा राखेर कृषि उत्पादन बढाउने लक्ष्य सरकारको रहेको छ।







