जेनजी आन्दोलनका अगुवाको स्पष्टिकरण: अक्टोबर ९ मा कुनै प्रदर्शन छैन


काठमाडौ । सामाजिक सञ्जालमा अक्टोबर ९ मा प्रदर्शन हुने भन्ने सन्देशहरू फैलिरहेका बेला जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले उक्त दिन कुनै प्रदर्शनको योजना नरहेको स्पष्ट पारेका छन्।
टिकटकमार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै ढुंगानाले भनेका छन्, “अक्टोबर ९ मा कुनै पनि प्रकारको हिंसा, तोडफोड वा अराजक गतिविधिमा जेनजीहरूको संलग्नता हुने छैन।”
उनले भदौ २३ मा भएको प्रदर्शनलाई स्मरण गर्दै त्यो दिन आन्दोलनले ठूला उपलब्धि हात पारेको दाबी गरे। “मुसो मार्न गएका थियौं, बाघ मारेर ल्यायौं,” उनले भने, “अब फेरि जंगलमा बाघ उचाल्न सकिँदैन।”
ढुंगानाले अहिलेको अवस्थामा नयाँ प्रदर्शन आवश्यक नरहेको जिकिर गरे। “एजेन्डा बिना, के गर्ने भन्ने नठहीकन हामी कुनै पनि प्रदर्शनमा सहभागी हुँदैनौं,” उनले भने, “शान्तिपूर्ण दबाब आवश्यक परेमा दिन सक्छौं, तर हिंसात्मक गतिविधिमा संलग्न हुँदैनौं।”
उनले प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै शान्तिपूर्ण ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। “एक हिसाबले बनिसकेको शान्ति हामी फेरि भंग गर्नेवाला छैनौं,” ढुंगानाले भने, “हाल प्रदर्शन गर्नुपर्ने कुनै ठोस कारण छैन।”
जेनजी आन्दोलनले यसअघिको प्रदर्शनमार्फत केही नीतिगत परिवर्तनहरूमा प्रभाव पारेको दाबी गर्दै, ढुंगानाले थप मागहरूका लागि आवश्यक परेमा शान्तिपूर्ण तरिकाले दबाबमूलक कार्यक्रम गर्न सकिने संकेत दिएका छन्।