हमासलाई युद्ध अन्त्यका लागि अमेरिकी प्रस्ताव स्वीकृत गर्न कतार, इजिप्ट र टर्कीको आग्रह

User Image Prime TV News ४ दिन अगाडि
Image of हमासलाई युद्ध अन्त्यका लागि अमेरिकी प्रस्ताव स्वीकृत गर्न कतार, इजिप्ट र टर्कीको आग्रह

काठमाडौ । जामा जारी युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाउन कतार, इजिप्ट र टर्कीले हमासलाई आग्रह गरेका छन्। वार्ताको नजिकबाट जानकारी राख्ने स्रोतका अनुसार, यी तीन देशले पछिल्लो २४ घण्टाभित्र हमास नेतृत्वसँग दुईपटक भेट गरी प्रस्तावको समर्थन गरेका छन्।

कतार, इजिप्ट र टर्की हमाससँग सबैभन्दा नजिकको सम्बन्ध भएका प्रमुख मध्यस्थकर्ताका रूपमा चिनिन्छन्। उनीहरू अमेरिका र इजरायलसँगको वार्तामा हमासको प्रतिनिधित्व गर्दै सन्देश आदानप्रदानको भूमिका निर्वाह गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले सोमबार राति आफ्नो युद्धविराम योजना सार्वजनिक गरिरहेका बेला कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अलथानी र इजिप्टका गुप्तचर प्रमुख हसन रशादले दोहामा हमास नेताहरूलाई सो योजना प्रस्तुत गरेका थिए।

उनीहरूले हमासलाई प्रस्ताव स्वीकार गर्न स्पष्ट सन्देश दिँदै भने, "यो नै तपाईंहरूले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो सम्झौता हो। अर्को मौका आउन सक्छ भन्ने कुरामा भर पर्न सकिन्न।" हमास नेताहरूले प्रस्तावलाई सकारात्मक रूपमा लिँदै गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार दोहामा भएको दोस्रो बैठकमा टर्कीका गुप्तचर निर्देशक इब्राहिम कालिन पनि सहभागी थिए। उक्त छलफलमा प्रस्तावबारे थप प्रस्ट पारिएको बताइएको छ।

यसैबीच, ट्रम्पले हमासलाई प्रस्तावको औपचारिक जवाफ दिनका लागि तीनदेखि चार दिनको समय दिएका छन्। अमेरिकी र इजरायली अधिकारीहरू हमासबाट केही संशोधनसहित सकारात्मक जवाफ आउने अपेक्षामा छन्।

युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय स्तरमा चर्किंदो दबाबबीच यो कूटनीतिक प्रयासलाई निर्णायक मानिएको छ। प्रस्ताव स्वीकृत भएमा गाजामा महिनौंदेखि जारी हिंसा अन्त्य हुने आशा गरिएको छ।