शिक्षा क्षेत्रमा सुधारका लागि सरकार सकारात्मक: मन्त्री पोखरेल

User Image Prime TV News २ दिन अगाडि
Image of शिक्षा क्षेत्रमा सुधारका लागि सरकार सकारात्मक: मन्त्री पोखरेल

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा देखिएका कमजोरी सुधार गर्न सरकार सकारात्मक रहेको बताएका छन्। सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकार सुधारका काम अघि बढाउन तयार रहेको बताए।

मन्त्री पोखरेलका अनुसार इन्धन अभाव र सरकारी निर्णयका कारण यस वर्ष शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गरिएको हो। सर्वोच्च अदालतको आदेशका कारण केही तालिका परिवर्तन गरेर २१ वैशाखदेखि कक्षा सञ्चालन गरिएको पनि उनले बताए। विद्यालयको शुल्क नियमन गर्ने अधिकार स्थानीय तहमा रहेको भन्दै उनले बढी शुल्क लिने विद्यालयमाथि कारबाही गरिने स्पष्ट पारे।

संस्थागत विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति पारदर्शी बनाउन नयाँ डिजिटल प्रणाली सुरु गरिएको पनि मन्त्रीले जानकारी दिए। अब छात्रवृत्तिको विवरण अनलाइन प्रणालीमा राखिनेछ। दुर्गम क्षेत्रमा विज्ञान र प्रविधिको पहुँच बढाउन विशेष कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर पनि भत्ता नफर्काउने प्राध्यापकहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको र केहीले रकम फिर्ता गर्न थालेको उनले जानकारी दिए। बैठकमा उनले विद्यालय गाभ्ने प्रक्रिया अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिने, एसईईमा अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा र अतिरिक्त कक्षा सञ्चालन गरिने बताए।

त्यस्तै, सुकुमवासी बस्तीका विद्यार्थीको शिक्षामा अवरोध नआओस् भनेर छुट्टै गुनासो प्रणाली सञ्चालन गरिएको र चिकित्सा शिक्षासम्बन्धी केही कानुनी सुधारको तयारी भइरहेको पनि उनले बताए।