कांग्रेसको प्रश्न: पूर्वगृहमन्त्रीमाथि छानबिन किन भएन?
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन नभएको भन्दै सरकारलाई प्रश्न उठाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भ्रष्टाचारको आरोपमा केही व्यक्तिमाथि मात्र कारबाही हुने तर उच्च पदस्थमाथि छानबिन नहुने प्रवृत्ति गलत भएको बताए।
उनले सरकारलाई निष्पक्ष छानबिन गर्न किन हिच्किचाएको भन्दै प्रश्न गरे। आङ्देम्बेले सरकारको सुशासन नीतिमाथि पनि आलोचना गर्दै सामाजिक सञ्जाल र बाहिरका स्रोतबाट जानकारी खोज्नुपर्ने अवस्था आउनु राम्रो संकेत नभएको बताए। उनले लोकतन्त्र बन्द कोठामा चल्ने व्यवस्था नभएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
साथै उनले सरकार 'अध्यादेशमा आधारित शासन' जस्तो देखिएको टिप्पणी गर्दै यस्तो अभ्यास स्वीकार्य नहुने बताए। सुकुम्बासी बस्ती हटाउने क्रममा अपनाइएको शैलीप्रति पनि उनले आपत्ति जनाउँदै नागरिकलाई डर र त्रासमा राख्न नहुने बताए।







