संसदमा समावेशी प्रतिनिधित्व बलिदानको परिणाम: प्रचण्ड
Prime TV News २ दिन अगाडि 
काठमाडौ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको चुनावी परिणामभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेको संसदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र अन्य समुदायको प्रतिनिधित्व हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। प्रचण्डका अनुसार यो प्रतिनिधित्व लामो संघर्ष, आन्दोलन र बलिदानको परिणाम हो।
प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी शहीदहरूको बलिदानको उपज भएको बताए । उनले भने, ‘बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं शहीदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्यौं ।’
उनले हजारौं शहीदहरूको योगदानले आजको संसद बनेको उल्लेख गरे। उनले अहिलेको संसदलाई सबै वर्ग र समुदायको प्रतिनिधित्व हुने “इन्द्रेणी संसद” भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए। साथै उनले नयाँ सांसदहरूलाई बधाई दिँदै जनताको विश्वास जोगाउन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा गर्दै उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाइको सफलतालाई स्वीकार गर्दै बालेन र रवि लामिछानेलाई बधाई दिए । ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाईको सफलता पाएको छ । त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,’ उनले भने ।
उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गरे । साथै बलिदानलाई बिर्सेमा यो भवन नै ढल्ने चेतावनी दिनुभयो । ‘मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफैं ढल्नेछ,’ उनले भने ।







