असोज १७ देखि २० सम्म मनसुनी गतिविधि तीव्र हुने, बाढीको उच्च जोखिम


काठमाडौ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशहरूमा मनसुनी गतिविधि सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ।
विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र सम्भावित बाढीको जोखिम रहेको जनाएको हो।
विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसाबाट भू–भागमा प्रवेश गरी मध्य भारततर्फ सर्दैछ।
यसको असर नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्नेछ, जसले गर्दा असोज १७ देखि २० सम्म ती प्रदेशहरूमा मनसुनी प्रणाली सक्रिय रहनेछ।
विभागले नारायणी, वाग्मती, कमला र कोसी नदीसहित तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपले बढ्न सक्ने र कतिपय स्थानमा खतरा तह नजिक पुग्न सक्ने उल्लेख गरेको छ।
साथै, चुरे र महाभारत क्षेत्रमा उत्पत्ति भएका स–साना नदी तथा नालामा आकस्मिक बहावको जोखिम पनि उच्च रहेको छ। विभागका अनुसार असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न, नदी किनारबाट टाढा रहन, र मौसम पूर्वानुमान तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।