दुईतिहाइ सरकारलाई ललकार्ने ? रास्वपाले उठायो न्यायालयको भूमिमा प्रश्न
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले न्यायपालिकाको भूमिकामाथि प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले न्याय सबै नागरिकका लागि समान हुनुपर्ने भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए।
पराजुलीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको विगत र हालका अभिव्यक्तिलाई लिएर पनि टिप्पणी गरेका छन्। “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाअन्तर्गत न्यायपालिका जहिले पनि जनतालाई प्रोटेक्ट (संरक्षण) गर्ने छहारी हुन्छ । तर, न्याय सबैका लागि बराबर हुन्छ भन्ने मान्यतालाई नेपाली जनताले भुल्नुपर्ने अवस्था बनेको छ,” उनले भने, “आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गर्दिनु ? तत्कालीन संविधानसभा सदस्य आज एक्टिङ सीजे (कामु प्रधानन्यायाधीश) हुनुहुन्छ । सडकबाट दुईतिहाइको सरकारलाई लल्कारेको छ, कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको ?”
न्यायपालिका जनताको संरक्षण गर्ने निकाय भए पनि अहिले न्याय पहुँच भएका, शक्तिशाली र धनी वर्गका लागि मात्र सीमित हुँदै गएको बताउदै पराजुलीले सरकार सबै नागरिकलाई समान न्याय दिलाउने प्रयासमा रहेको भन्दै त्यसलाई सफल बनाउन आवश्यक सुधार गर्नुपर्ने बताए।







