पश्चिमी प्रणालीको प्रभावः देशका धेरै ठाउँमा वर्षा र चट्याङ्गको सम्भावना

User Image Prime TV News २० घण्टा अगाडि
Image of पश्चिमी प्रणालीको प्रभावः देशका धेरै ठाउँमा वर्षा र चट्याङ्गको सम्भावना

काठमाडौ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित अन्य हिमाली तथा पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

महाशाखाले सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र चट्याङ्गको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।