चीन भ्रमणमा ट्रम्प, व्यापार र इरान तनाव मुख्य एजेन्डा
Prime TV News १८ घण्टा अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन भ्रमणमा निस्किएका छन् ।
तीन दिने भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग व्यापार, सुरक्षा र अन्तर्राष्ट्रिय तनावका विषयमा छलफल गर्ने भएका छन् ।
चीन प्रस्थानअघि ट्रम्पले इरानबारे कडा अभिव्यक्ति दिएका छन् । उनले इरान अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै आवश्यक परे कडा कदम चालिने चेतावनी दिएका हुन् ।
ट्रम्पले चीनसँगको सम्बन्धलाई 'महत्त्वपूर्ण मोड' मा पुगेको बताएका छन् । पछिल्ला वर्षहरूमा व्यापारिक कर, प्रविधि प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय प्रभावको विषयमा अमेरिका र चीनबीच लगातार तनाव बढ्दै आएको छ ।
गत वर्ष अमेरिकाले विभिन्न देशका सामानमा उच्च भन्सार कर लगाएपछि चीनले पनि जवाफी कर लगाएको थियो । त्यसपछि सुरु भएको व्यापार युद्धले विश्व अर्थतन्त्रमा समेत असर परेको थियो ।
यद्यपि केही कर अस्थायी रूपमा स्थगित गरिए पनि दुई देशबीचको अविश्वास अझै हट्न सकेको छैन । ट्रम्प र सीबीच हुने यो भेटलाई भविष्यको अमेरिका–चीन सम्बन्धका लागि निर्णायक रूपमा हेरिएको छ ।







