नेपालमा हान्टा भाइरसको जोखिम कम, नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

User Image Prime TV News १६ घण्टा अगाडि
Image of नेपालमा हान्टा भाइरसको जोखिम कम, नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौ । विश्वका केही देशमा देखिएको हान्टा भाइरसको चर्चा नेपालमा पनि बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ ।

मन्त्रालयले हालसम्म नेपालमा हान्टा भाइरसको कुनै बिरामी फेला नपरेको जनाएको छ । साथै अहिले धेरै चर्चा भइरहेको ‘एन्डिज भाइरस’ फैलाउने मुसा नेपालमा सामान्य रूपमा नपाइने भएकाले तत्काल ठूलो जोखिम नरहेको स्पष्ट पारेको छ ।

हान्टा भाइरस मुख्य रूपमा संक्रमित मुसाबाट सर्ने दुर्लभ रोग हो । मुसाको पिसाब, दिसा वा र्‍यालबाट दूषित भएको वस्तु वा ठाउँको सम्पर्कमा आउँदा मानिसमा संक्रमण हुन सक्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो रोग मानिसबाट मानिसमा सजिलै सर्दैन । अत्यन्त नजिकको सम्पर्कमा रहेका अवस्थामा मात्रै सीमित रूपमा सर्न सक्ने सम्भावना रहने बताइएको छ ।

मन्त्रालयले घर वरपर सफा राख्न, मुसा पस्न सक्ने प्वाल बन्द गर्न, फोहोर सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्न तथा साबुनपानीले नियमित हात धुन आग्रह गरेको छ ।

साथै ज्वरो आउने, सास फेर्न गाह्रो हुने वा अन्य असामान्य स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल जान सुझाव दिइएको छ । स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएका गलत सूचना र अफवाहले अनावश्यक डर फैलाइरहेको भन्दै आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ ।