सरकारका मन्त्रालय घटेर १८ वटा, नयाँ संरचना लागू हुने
Prime TV News १६ घण्टा अगाडि 
काठमाडौ । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३’ स्वीकृत गरेपछि मन्त्रालयको संख्या २२ बाट घटेर १८ वटा कायम भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार नयाँ नियमावलीसँगै मन्त्रालयको संख्या, नाम र कार्यविभाजनको टुंगो लागेको छ । सरकारले खर्च घटाउने र प्रशासनलाई सरल बनाउने उद्देश्यले मन्त्रालय पुनःसंरचना गरेको हो । यसका लागि पहिले नै कार्यदल गठन गरिएको थियो, जसको नेतृत्व गोविन्दबहादुर कार्कीले गरेका थिए ।
कार्यदलले मन्त्रालय संख्या घटाएर १८ मा झार्ने सुझाव दिएको थियो । सोही आधारमा नयाँ संरचना अघि बढाइएको हो । नयाँ संरचनाअनुसार केही मन्त्रालय गाभिने र केहीको नाम तथा जिम्मेवारी परिवर्तन हुने भएको छ । युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज वा समायोजन गरिने छ ।
खेलकुद क्षेत्रलाई शिक्षासँग जोडेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाउने प्रस्ताव छ । त्यस्तै महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा, स्वास्थ्य र सामाजिक सुरक्षालाई एकीकृत गरी नयाँ मन्त्रालय बनाइनेछ । खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयसँग गाभिनेछ भने यातायात क्षेत्रलाई श्रम मन्त्रालयअन्तर्गत राखिने तयारी छ ।
सरकारले भने नयाँ मन्त्रालयहरूको अन्तिम नाम र संरचना अझै टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।







