विजयादशमीको मुख्य दिन आज, टीका थापी मनाइँदै, उत्तम साइत ११:५३ मा


काठमाडौ ।आज बडादशैको मुख्य दिन विजयादशमी । विजयादशमीका अवसरमा मान्यजनको हातबाट टीका, जमरा र प्रसाद थाप्दै दीर्घायु, समृद्धि र सफलताको कामना गरिने परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका थाप्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा परेको छ। समितिले टीका लगाउने व्यक्ति पूर्वतर्फ, र टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने उल्लेख गरेको छ।
यसअघि, बिहान ९:२३ बजे देवी विसर्जन गर्ने साइत रहेको समितिले जनाएको छ। घटस्थापनाको दिनबाट सुरु भएको दुर्गा पूजाको धार्मिक प्रक्रिया देवी विसर्जनसँगै सम्पन्न हुन्छ।
विजयादशमी आफैंमा नै शुभ दिन भएकाले सर्वसाधारणले टीका थाप्न साइत खोज्न आवश्यक नपर्ने धार्मिक मान्यता छ। तर, राष्ट्रप्रमुख, प्रधानमन्त्रीलगायत राज्य सञ्चालकहरू भने निर्धारित उत्तम साइतमा नै टीका ग्रहण गर्ने परम्परा रहेको छ ।
टीका र जमरा दुर्गा भवानीको प्रसाद मानिन्छ। मान्यजनबाट नवदुर्गाको प्रतीकस्वरूप टीका, जमरा र मिठा परिकारहरू थापेर आशीर्वाद लिने परम्पराले समाजमा पारिवारिक सम्वन्ध सुदृढ बनाउने र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने विश्वास गरिएको छ।
जो आज टीका थाप्न नपाउँछन्, तिनीहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न सक्नेछन्। पूर्णिमासम्म टीका थाप्दा जमरालाई समृद्धिको प्रतीकस्वरूप साथमा लगाउने गरिन्छ।
कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको पूजा एवं व्रत बसेर दशैं पर्वको विधिपूर्वक समापन गरिन्छ। देशका साथै विदेशमा रहेका नेपालीहरूले पनि यस पर्वलाई सामाजिक मेलमिलाप र सांस्कृतिक पहिचानको रुपमा मनाउने चलन बढ्दो छ।