सभामुखको रुलिङप्रति एमाले नेता बर्तौलाको आपत्ति

User Image Prime TV News ७ घण्टा अगाडि
Image of सभामुखको रुलिङप्रति एमाले नेता बर्तौलाको आपत्ति

काठमाडौ । नेकपा एमालेका नेता महेश बर्तौलाले बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुखको रुलिङ चयनमुखी भएको भन्दै आपत्ति जनाएका छन्। उनले सभामुख डीपी अर्यालले एमाले नेता रामबहादुर थापाले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउने निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका हुन्।

बर्तौलाले उक्त निर्णयले संसद्को लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका, संसदीय अभ्यास र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको दाबी गरेका छन्। उनका अनुसार संसदमा प्रतिपक्षको मुख्य भूमिका सरकारलाई खबरदारी गर्ने, प्रश्न उठाउने र आलोचना गर्ने भएकाले त्यसलाई सीमित गर्न नहुने हो।

यदि राजनीतिक दबाबका आधारमा अभिव्यक्ति हटाइने हो भने संसद् बहसको थलोभन्दा नियन्त्रणको संरचनातर्फ जाने उनको चेतावनी छ। बर्तौलाले सभामुखले कुनै शब्द वा अभिव्यक्ति असंसदीय किन ठहरियो भन्ने स्पष्ट आधार दिनुपर्नेमा त्यो स्पष्टता नभएको पनि बताएका छन्।

उनले संसदभित्र सरकार र प्रतिपक्ष दुवैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै सभामुखको निष्पक्ष भूमिकामाथि प्रश्न उठेको उल्लेख गरेका छन्।