नीति तथा कार्यक्रममाथि आज निर्णायक छलफल, प्रधानमन्त्री उपस्थित हुनेमा अझै अन्योल
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर, प्रधानमन्त्री बालेन शाह बैठकमा उपस्थित नभएको विषयलाई लिएर बुधबार प्रतिनिधिसभामा चर्को विवाद भएको थियो । प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । बुधबार प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीमार्फत जवाफ दिने तयारी भएपछि विपक्षी सांसदहरूले त्यसको विरोध गरेका थिए । विरोधका कारण बैठक नियमित कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो । आजको सम्भावित कार्यसूचीमा भने नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । साथै, छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा समावेश गरिएको छ । यद्यपि, प्रधानमन्त्री आज संसद्मा उपस्थित हुने वा फेरि अनुपस्थित रहने भन्ने विषय अझै स्पष्ट भएको छैन । यही कारण आजको बैठक पनि तनावपूर्ण बन्न सक्ने अनुमान गरिएको छ । त्यस्तै, राष्ट्रियसभाको बैठक पनि बिहान ११ः१५ बजे बस्नेछ । राष्ट्रियसभामा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।






