पश्चिमी वायुको प्रभाव बढ्यो, देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
Prime TV News ४७ मिनेट अगाडि 
काठमाडौ । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यही कारण धेरै क्षेत्रमा बादल लाग्नुका साथै वर्षा भइरहेको छ ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा बादल लागेको छ । केही स्थानमा पानी पनि परिरहेको छ । विशेषगरी कोशी र बागमती प्रदेशका केही ठाउँ तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशका हिमाली र पहाडी क्षेत्रमा मौसम बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने बताइएको छ ।
तराईका केही ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । आज राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा राति पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मौसमविद्ले चट्याङ्ग, वर्षा र हिमपातका कारण यात्रा तथा दैनिक काममा असर पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् ।







