अमेरिका–चीन सम्बन्ध सुधार प्रयासमा ट्रम्प–सी भेट, विश्वको चासो बेइजिङतर्फ
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच आज बेइजिङमा महत्वपूर्ण भेटवार्ता हुँदैछ । विश्व राजनीति र अर्थतन्त्रमा असर पार्ने मानिएको यो भेट ‘द ग्रेट हल अफ द पिपुल’ मा आयोजना हुँदैछ ।
दोस्रो कार्यकाल सुरु भएपछि ट्रम्प पहिलोपटक चीन पुगेका हुन् । अमेरिका र चीनबीच पछिल्लो समय व्यापारिक कर, प्रविधि, ताइवान र इरानजस्ता विषयमा तनाव बढिरहेका बेला यो भेट हुन लागेको हो ।
अमेरिकाले चिनियाँ सामानमा भन्सार शुल्क बढाएपछि दुई देशबीच व्यापार युद्ध चर्किएको थियो । अब दुवै देश व्यापारिक सम्बन्ध सुधार गर्ने प्रयासमा देखिएका छन् । अमेरिकाले नयाँ व्यापारिक ढाँचा प्रस्ताव गर्न सक्ने चर्चा छ ।
भेटमा ताइवानको विषय मुख्य मुद्दा बन्ने अनुमान गरिएको छ । अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्दै आएको विषयमा चीन असन्तुष्ट छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्ने भएकाले यो मुद्दा दुई देशबीच संवेदनशील बनेको छ ।
त्यस्तै, इरान युद्ध र तेल व्यापारबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । अमेरिकाले चीनले इरानबाट ठूलो मात्रामा तेल खरिद गरेर तेहरानलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ ।
ट्रम्पको भ्रमण टोलीमा १६ वटा प्रतिष्ठित अमेरिकी कम्पनीका सिइओहरू सहभागी छन् । जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिन्कसहित प्रविधि र बैंकिङ क्षेत्रका दिग्गजहरू रहेका छन् ।
चीनले अमेरिकी कृषि उत्पादन खरिद बढाउने र बोइङ विमान खरिद गर्न सक्ने चर्चा पनि छ । बदला स्वरूप चीनले एआई र उच्च प्रविधिमा अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो पार्न आग्रह गर्न सक्ने बताइएको छ ।







