क्लासिक टेकमा बढ्यो ग्राहकको आकर्षण, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

User Image Prime TV News ४९ मिनेट अगाडि
Image of क्लासिक टेकमा बढ्यो ग्राहकको आकर्षण, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

काठमाडौ । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेकप्रति ग्राहकको आकर्षण बढ्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कम्पनीले दुई महिनामै ३ हजारभन्दा बढी नयाँ ग्राहक थप्न सफल भएको छ ।

तथ्यांकअनुसार २०८२ सालको फागुन महिनामा क्लासिक टेकका ग्राहक संख्या २ लाख ७९ हजार ८४८ रहेको थियो । यो संख्या चैत्र महिनामा बढेर २ लाख ८३ हजार ३७१ पुगेको छ । यस अवधिमा कम्पनीले ३ हजार ५२३ नयाँ ग्राहक थपेको देखिन्छ ।

नयाँ ग्राहक थप्ने दरमा वर्ल्डलिङ्क पहिलो स्थानमा रहेको छ । वर्ल्डलिङ्कले ५ हजार ३२५ नयाँ ग्राहक थपेको छ । त्यसपछि क्लासिक टेक दोस्रो स्थानमा देखिएको हो ।

त्यस्तै, भायानेटले २ हजार ८७७, नेपाल टेलिकमले १ हजार ७१२, सुबिसुले २ हजार १२५ र सीजी नेटले १ हजार १९९ नयाँ ग्राहक थपेका छन् । यता डिशहोमका ग्राहक भने ४ हजार ९८० ले घटेका छन् ।

कम्पनीका अनुसार सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिनु र सबै प्याकेजमा आधुनिक वाइफाइ सिक्स राउटर उपलब्ध गराउनु ग्राहक आकर्षण बढ्नुको मुख्य कारण हो ।

क्लासिक टेकले ५० एमबिपिएसदेखि ३०० एमबिपिएससम्मका विभिन्न प्याकेजमा वाइफाइ सिक्स राउटर उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले ग्राहक सेवा र प्राविधिक सहयोगलाई पनि प्राथमिकतामा राखेको बताएको छ ।

वर्षायाममा फाइबर लाइन बिग्रिने तथा प्राविधिक समस्या आउने चुनौती हुँदाहुँदै पनि सेवा सुधारका लागि विशेष अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।