जोखिम बढेपछि बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकमा यातायात बन्द
Prime TV News ४६ मिनेट अगाडि 
काठमाडौ । देशका दुई महत्वपूर्ण सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । सम्भावित बाढी र सडक निर्माणका कारण काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग तथा हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा यातायात रोकिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा बाढीको जोखिम बढेपछि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ ।
प्रहरीले वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाएको छ । वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले दुर्घटनाको जोखिम रोक्न यस्तो निर्णय गरिएको प्रहरीले जनाएको छ ।
उता, हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडकखण्ड पनि बन्द गरिएको छ ।
सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेपछि वैशाख २९ गतेदेखि जेठ २ गतेसम्मका लागि यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सडकखण्ड प्रयोग गर्ने यात्रु र सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।







