रोयल च्यालेन्जर्स बेंगलुरूले आईपीएलमा कोलकाता नाइट्सराइडर विरुद्व ६ विकेटको जित
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । विराट कोहलीको शतकप्रेरित रोयल च्यालेन्जर्स बेंगलुरूले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट्सराइडरविरुद्व ६ विकेटको जित निकालेको छ ।
जितसँगै शीर्षस्थानमा उक्लिएको बेंगलुरूले प्लेअप सम्भावनालाई लगभग पक्का गरेको छ । बुधबार रायपुरस्थित सहिद वीरनारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा कोलकाताले प्रस्तुत गरेको १९३ रनको लक्ष्य बेंगलुरूले पाँच बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरूका कोहलीले १०५ रनको शतकीय इनिङ खेले । उनले ६० बलमा ११ चौका र तीन छक्का प्रहार गरे । देवदत्त पडिकलले ३९, ज्याकोब बेथेलले १५ र कप्तान रजत पाटिदारले ११ रन जोडे । दोस्रो विकेटका निम्ति कोहली र पडिकलले ८२ रनको साझेदारी गरेका थिए ।
कोलकाताका कार्तिक त्यागीले तीन र सुनील नारायणले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङका लागि आएको कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९२ रनको योगफल तयार पारेको थियो ।
कोलकाताका अंगक्रिश रधुवंशीले ७१ रनको इनिङ खेले । उनले ४७ बलमा सात चौका र तीन छक्का प्रहार गरे । रिंकु सिंहले अविजित ४९, क्यामरुन ग्रिनले ३२, कप्तान अजिंक्या रहानेले १९ र फिन एलनले १८ रन जोडे । तेस्रो विकेटका लागि रधुवंशी र ग्रिनबीच ६८ रनको साझेदारी भएको थियो ।
बेंगलुरूका भुवनेश्वर कुमार, जोस हेजलउड र रसिक सलामले समान एक विकेट लिए । लगातार दोस्रो र समग्रमा आठौँ जितसँगै बेंगलुरूले १२ खेलमा १६ अंक जोडेको छ । पराजयसँगै ११ खेलमा नौ अंकका साथ आठौँ स्थानमा रहेको कोलकाताको प्लेअफ सम्भावना कठिन बनेको छ ।







