संविधान संशोधन बहसमा जेनजी आन्दोलनका प्रतिनिधिलाई सरकारले बोलायो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सरकारले संविधान संशोधनको विषयमा जेनजी आन्दोलनका प्रतिनिधिहरुसँग औपचारिक छलफल गर्ने भएको छ । यसका लागि जेनजी आन्दोलनका २० जना प्रतिनिधिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निमन्त्रणा दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको 'संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२' ले आगामी शुक्रबार छलफल आयोजना गरेको हो । छलफल प्रधानमन्त्री कार्यालयस्थित सगरमाथा हलमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा रहेको कार्यदलले संविधान संशोधनबारे युवापुस्ताको धारणा र सुझाव संकलन गर्न जेनजी आन्दोलनसँग संवाद गर्न लागेको जनाएको छ । सचिवालयले जारी गरेको पत्रअनुसार छलफलमा सहभागी प्रत्येक वक्तालाई आफ्नो धारणा राख्न तीन मिनेट समय दिइनेछ । साथै, सहभागीहरूले लिखित सुझाव पनि पेश गर्न सक्नेछन् । छलफलका लागि रक्षा बम, उपार्जुन चाम्लिङ, तनुजा पाण्डे, माजित अन्सारी, अर्पित चौधरी, रिजन रामामगर, अमृता बम, युगन राजभण्डारी, प्रभाष बस्नेत, पेमा वाङ्बु, टंक जैसी, यादव अर्याल, यतिस ओझा, जनक पोखरेल, आयुष बराल, सुदीप सेठ, अरुण सिंह नेपाली, विप्लवी न्यौपाने, साकेन राई र मोनिका निरौलालाई बोलाइएको छ । सरकारले पछिल्लो समय संविधान संशोधनको बहसलाई विभिन्न समुदाय, समूह र युवापुस्तासम्म विस्तार गर्ने प्रयास गरिरहेको छ ।







