संविधान संशोधन छलफलमा नबोलाएपछि मिराज ढुंगानाको कटाक्ष

User Image Prime TV News एक घण्टा अगाडि
Image of संविधान संशोधन छलफलमा नबोलाएपछि मिराज ढुंगानाको कटाक्ष

काठमाडौ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले जेनजी आन्दोलनका प्रतिनिधिसँग गर्न लागेको छलफलमा आफूलाई नबोलाएको भन्दै मिराज ढुंगानाले तीव्र असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कार्यदलको नेतृत्व र सदस्य चयन प्रक्रियामाथि नै प्रश्न उठाएका छन् । उनले कार्यदलका संयोजक अशिम शाहलाई लक्षित गर्दै व्यंग्य गरेका हुन् ।

ढुंगानाले संविधान निर्माणजस्तो गम्भीर विषयलाई अनुभव र दक्षतासँग जोड्दै 'मुटुको सर्जरी गर्न कार्डियोलोजिस्ट चाहिन्छ, प्लम्बरले हुँदैन' भन्ने टिप्पणी गरेका छन् ।

उनले आफूले लामो समयदेखि संवैधानिक निकास र निर्वाचनको पक्षमा आवाज उठाउँदै आएको दाबी गर्दै यस्तो छलफलमा आफू सहभागी नभएकै राम्रो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'डाइरेक्टर साबले फिल्मको जस्तो मसालेदार संविधान बनाउनुपर्छ भन्नुभयो भने म सुन्न सक्दिन होला ।'

त्यस्तै, उनले 'खरानी ग्याङ' उल्लेख गर्दै भविष्यमा त्यस्ता समूह दोहोरिन नदिने र अहिले सक्रिय रहेको आरोप लागेका व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउने खालको संविधान बनाउन आग्रह गरेका छन् ।

ढुंगानाले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई भने छलफलमा सहभागी हुन आग्रह गरेका छन् । उनले 'संवैधानिक दुर्घटना हुनबाट रोक्न सक्ने शक्ति युवाहरूमा रहेको' बताएका छन् । सरकारले आगामी शुक्रबार जेनजी आन्दोलनका २० प्रतिनिधिसँग संविधान संशोधनबारे छलफल गर्ने तयारी गरेको छ ।