सम्पत्ति छानबिन आयोगको निर्देशन : ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका तथा पहिले पदमा रहेर अवकाश पाएका सबै व्यक्तिहरूलाई आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
आयोगले आज सार्वजनिक सूचना जारी गर्दै तोकिएका क्षेत्रका पदाधिकारी र कर्मचारीलाई ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो। आयोगले आर्थिक वर्ष २०४६/४७ देखि २०८२/८३ सालको चैत मसान्तसम्म सार्वजनिक पदमा रहेका तथा अहिले अवकाश लिएका राजनीतिक पदाधिकारी, सरकारी कर्मचारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्ने जनाएको छ।
सम्बन्धित व्यक्तिहरूले आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सबै प्रकारको सम्पत्ति विवरण बुझाउनुपर्नेछ। यसमा घरजग्गा, गाडी, सेयर, व्यवसाय, बैंक मौज्दात, ऋण तथा अन्य चल–अचल सम्पत्ति समावेश हुनेछन्। त्यस्तै, सम्पत्ति कसरी आर्जन गरिएको हो भन्ने स्रोत पनि स्पष्ट रूपमा देखाउनुपर्नेछ। तलब, भत्ता, विदेश भ्रमण, जग्गा बिक्री, व्यवसाय, रेमिट्यान्स तथा अन्य आम्दानीका स्रोतहरू पनि प्रमाणसहित पेश गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार तोकिएको समयभित्र विवरण नबुझाउने वा गलत विवरण दिने व्यक्तिमाथि कानुनी कारबाही हुनेछ। सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्तिको पारदर्शिता सुनिश्चित गर्न यो प्रक्रिया सुरु गरेको जनाएको छ।







