विद्युत् नियमन आयोगमा पदाधिकारी छनोट खुला प्रतिस्पर्धाबाट हुने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी छनोट खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सिफारिस समिति गठन गरेका छन्।
समितिको संयोजकमा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत रहेका छन्। सदस्यहरूमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी रहेका छन्। समितिले आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ।
यसका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ। यसअघि आयोगका पदाधिकारीहरू सरकारले जारी गरेको कानुनी व्यवस्था अनुसार स्वतः पदमुक्त भएपछि आयोग खाली भएको थियो। अब समितिले आएका आवेदनहरूको मूल्यांकन गरी अन्तिम मिति सकिएको २१ दिनभित्र योग्य उम्मेदवारको नाम मन्त्रालयमा सिफारिस गर्नेछ।






