अमेरिकामा शटडाउन, आफ्ना अधिकांश सेवा तथा कार्यक्रमहरू बन्द

User Image Prime TV News ३ दिन अगाडि
Image of अमेरिकामा शटडाउन, आफ्ना अधिकांश सेवा तथा कार्यक्रमहरू बन्द

काठमाडौ । अमेरिकामा संघीय संसदबाट बजेट पारित हुन नसक्दा सरकारले शटडाउनको घोषणा गरेको छ। सिनेटमा डेमोक्रेट र रिपब्लिकन दुबै दलले एकअर्काले प्रस्तुत गरेका अस्थायी खर्च विधेयकहरू अस्वीकृत गरेपछि संघीय सरकारले आफ्ना अधिकांश सेवा तथा कार्यक्रमहरू बन्द गरेको हो।

यसले गर्दा लाखौं सरकारी कर्मचारीहरू बेतलबी बिदामा जान बाध्य भएका छन् भने केही अत्यावश्यक सेवाका कर्मचारीहरूलाई तलब नपाई काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

ह्वाइट हाउसको वेबसाइटमा शटडाउन सुरु भएको समय गन्ने डिजिटल घडीसमेत राखिएको छ, जसले यो स्थितिको गम्भीरता झल्काउँछ।

शटडाउनका कारण खाद्य सेवा, बालबालिकासम्बन्धी कार्यक्रम, विद्यार्थी कर्जा प्रणाली, पूर्वप्राथमिक विद्यालय, तथा राष्ट्रिय निकुञ्जहरूको सेवा आंशिक वा पूर्ण रूपमा प्रभावित भएका छन्।

यद्यपि, स्वास्थ्य सेवा, सीमा सुरक्षा र हवाई यातायात नियन्त्रणजस्ता आपतकालीन सेवाहरू भने यथावत् रहने बताइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले कुनै पनि परिवर्तनबिना निरन्तर खर्च प्रस्ताव पारित गर्न खोजेपनि डेमोक्र्याटहरूको समर्थन नपाउँदा त्यो प्रस्ताव सिनेटबाट पारित हुन सकेन। यस विषयमा दुई प्रमुख दलबीच एकअर्कालाई दोष दिने क्रम चलिरहेको छ।

सन् १९८० पछि अमेरिकाले १५ पटक संघीय शटडाउनको सामना गरिसकेको छ। यसअघि ट्रम्पकै कार्यकालमा सन् २०१८-१९ मा भएको शटडाउन अहिलेसम्मकै सबैभन्दा लामो ३५ दिनको रहेको थियो।

पछिल्लो अवस्थालाई लिएर विश्लेषकहरू आगामी दिनहरूमा पनि दलहरूबीच सहमति नजुटे शटडाउन अझ लम्बिन सक्ने चिन्ता व्यक्त गरिरहेका छन्। यस्तो परिस्थितिमा शटडाउनले अमेरिकी जनजीवनमा मात्र होइन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिक सन्तुलनमा समेत प्रभाव पार्ने संकेत देखिएको छ।