सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले वास्तविक सुकुम्बासीलाई लालपुर्जा नदिइएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने तयारी गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यो जानकारी दिएका हुन्।
समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री तथा अधिकारीहरूले सुकुमवासी व्यवस्थापनको हालको प्रगति र आगामी योजनाबारे जानकारी दिएका छन्।
सरकारले अहिले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान गर्ने काम गरिरहेको छ। यो प्रक्रिया पूरा भएपछि छिटो प्रक्रियाबाट लालपुर्जा वितरण गर्ने योजना रहेको बताइएको छ। शहरी विकास मन्त्रालयले यसका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको जानकारी समितिलाई दिएको छ।
त्यसैगरी होल्डिङ सेन्टरमा रहेका सुकुमवासी परिवारका बालबालिकाका लागि विद्यालय जाने बसको व्यवस्था र सुत्केरी महिलाका लागि पोषण सहायता पनि मिलाइएको बताइएको छ। समितिका अनुसार लालपुर्जा नपाउन्जेलसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा दिने योजना अघि बढाइएको छ। यस विषयमा वास्तविक अवस्था बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय पनि गरेको छ।






