सीईओ पक्राउ प्रति बैंकिङ क्षेत्रका संगठनको आपत्ति

User Image Prime TV News एक घण्टा अगाडि
Image of सीईओ पक्राउ प्रति बैंकिङ क्षेत्रका संगठनको आपत्ति

काठमाडौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्रका चार छाता संगठनहरूले आपत्ति जनाएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पाण्डेलाई नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कर्जा असुली बैंकको नियमित काम भएको उल्लेख गरिएको छ। कर्जा असुली गर्नु बैंकको प्रमुख जिम्मेवारी भएकाले त्यसकै कारण बैंक नेतृत्वलाई पक्राउ गर्दा गलत सन्देश जाने उनीहरूको भनाइ छ। बैंकिङ क्षेत्रका संगठनहरूले यस्तो घटनाले बैंकको साख घट्ने र वित्तीय प्रणालीमा असर पर्ने चेतावनी दिएका छन्।

उनीहरूले सम्बन्धित निकायलाई “सुन अनि थुन” को सिद्धान्त अपनाउन आग्रह गर्दै सीईओ पाण्डेलाई अनुसन्धानका क्रममा थुनाबाहिर राखेर प्रक्रिया अघि बढाउन माग गरेका छन्।