नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार भने बढ्यो
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार तेस्रो दिन पनि घटेको छ। बिहीबार बजार १० अंकले घट्दै नेप्से परिसूचक २७३० अंकमा पुगेको छ। यसअघि मंगलबार ३९ अंक र बुधबार ४ अंकले बजार घटेको थियो।
लगातार गिरावट भए पनि आजको कारोबार रकम भने बढेको छ। हिजो २ अर्ब ८० करोड रुपैयाँ बराबर कारोबार भएकोमा आज बढेर ३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। आज बजारमा ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको मूल्य भने स्थिर रह्यो।
सेक्टरगत रूपमा हेर्दा धेरैजसो समूह घटेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट देखिएको छ। सबैभन्दा धेरै घट्ने समूह ‘अन्य’ रहेको छ, जुन करिब २ प्रतिशतले घट्यो। व्यापार र जीवन बीमा समूह मात्र सामान्य रूपमा बढेका छन्।
आज केही कम्पनीको मूल्य राम्रोसँग बढेको देखियो। युनियन हाइड्रोपावरको सेयर सबैभन्दा धेरै करिब ९.७९ प्रतिशतले बढ्यो। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्तको सेयर पनि बढ्यो। त्यस्तै केही कम्पनीमा ठूलो गिरावट आयो। एसियन हाइड्रोपावरको सेयर करिब ९.८९ प्रतिशतले घट्यो। हिमालयन रिइन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरको सेयर पनि घट्ने सूचीमा परे।
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी रहेका छन्। समग्रमा बजार लगातार घटिरहेको देखिए पनि कारोबार रकम बढेकाले लगानीकर्ताको सक्रियता अझै कायम रहेको संकेत देखिएको छ।







