कांग्रेस उपसभापति शर्माको अपिल: भागबन्डाको राजनीति अन्त्य हुनुपर्छ

User Image Prime TV News २ घण्टा अगाडि
Image of कांग्रेस उपसभापति शर्माको अपिल: भागबन्डाको राजनीति अन्त्य हुनुपर्छ

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी सबैलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई पनि पार्टीले समेटिरहेको दाबी गरे।

उनका अनुसार पछिल्ला निर्णयहरू पार्टी एकताकै लागि गरिएको प्रयास हुन्। उनले महिला संघको सभापतिमा मिना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे र केन्द्रीय समितिमा १९ जना सदस्यहरूको मनोनयनलाई त्यसैको उदाहरणका रूपमा प्रस्तुत गरे।

विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत सम्मानजनक जिम्मेवारी दिइएको बताउँदै पार्टीले कसैलाई पनि पाखा नलगाएको दाबी गरे। उनले पार्टीभित्र निर्णय गर्दा दोहोरो मापदण्ड हुनु नहुने भन्दै असन्तुष्टि पनि जनाए। “कसैलाई स्पष्टीकरण नै नलिई कारबाही हुने तर जिम्मेवारी दिनुपर्दा फरक प्रक्रिया अपनाउने अवस्था ठीक होइन,” उनले भने।

त्यसैगरी उनले लामो समयदेखि चल्दै आएको ६०/४० को भागबन्डा संस्कृतिबाट बाहिर निस्केर अब सबै मिलेर १०० प्रतिशत कांग्रेस बनाउनुपर्नेमा जोड दिए।