सरकारलाई सही बाटोमा राख्ने शक्ति कांग्रेससँग छः कांग्रेस सभापति थापा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार संविधान र कानुनको दायराभित्र चल्नुपर्ने बताएका छन्।
उनले सरकारलाई सही बाटोमा राख्ने शक्ति कांग्रेससँग रहेको पनि दाबी गरे । गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै गगन थापाले सरकारको अन्धाधुन्ध विरोध गर्नु आवश्यक नरहेको बताए। “राम्रो कामको समर्थन गर्नुपर्छ, तर गलत बाटोमा जान दिइनु हुँदैन,” उनले भने।
उनले सुशासनका लागि केवल गति मात्र नभई सही दिशा आवश्यक हुने बताए। “गति र बेगको नाममा सरकार लहडमा जानु हुँदैन,” उनले भने। थापाले राज्यले निजी क्षेत्रसँग गर्ने व्यवहारले भविष्यमा ठूलो असर पार्न सक्ने चेतावनी पनि दिए। निजी क्षेत्रलाई निरुत्साहित गर्ने कदमले अर्थतन्त्रमा समस्या आउन सक्ने उनको भनाइ थियो।
त्यस्तै उनले संघीय सरकारमा उठ्ने प्रश्नहरूको जस्तै प्रदेश सरकारहरूले पनि स्पष्ट जवाफ दिन सक्नुपर्ने बताए। सभापति थापाले कांग्रेसले लोकतन्त्र, संविधान र सुशासनको पक्षमा उभिएर सरकारलाई जिम्मेवार बनाउने भूमिका खेल्ने बताए।







