राजेन्द्र राईको रास्वपालाई कटाक्ष: ‘प्रधानमन्त्री बोलाउन नसक्नु कमजोरी’
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेका सांसद राजेन्द्र राईले संसदमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि व्यंग्य गरेका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री उपस्थित नभएको विषय उठाउँदै उनले रास्वपाले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै आलोचना गरे।
राजेन्द्र राईले 'प्रधानमन्त्रीलाई बोलाउन नसक्नु कमजोरी हो' भन्दै प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको टिप्पणी गरे। उनले लोकतन्त्र र जनमतको कुरा गर्ने पार्टीले प्रधानमन्त्रीलाई संसदीय मूल्य र मान्यताअनुसार सदनमा उपस्थित गराउनुपर्ने बताए।
राईले प्रधानमन्त्रीसँगै अर्थमन्त्री पनि छलफलका क्रममा अनुपस्थित रहेको भन्दै जनप्रतिनिधिलाई हेपिएको आरोप लगाए। 'जनताबाट निर्वाचित प्रतिनिधिलाई हेप्नु राम्रो होइन,' उनले भने। त्यस्तै उनले रास्वपाले चुनावमा नयाँ राजनीति गर्ने नारा दिए पनि नीति तथा कार्यक्रम पुरानै शैलीको भएको टिप्पणी गरे।
उनले अहिलेको नीति तथा कार्यक्रम केपी ओली नेतृत्वको सरकारका पुराना योजनाजस्तै देखिएको बताए । नीति तथा कार्यक्रममा गाँजा खेती, तमोर जलाशययुक्त आयोजना लगायतका विषय समावेश नभएको उनको भनाई थियो ।







