राष्ट्रपति पौडेलको विजयादशमी शुभकामना: मेलमिलाप र स्थायित्वका लागि आब्हान


काठमाडौ । विजयादशमी २०८२ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै देशमा मेलमिलाप, सद्भाव र स्थायित्वको लागि दुर्गा भवानीसँग प्रार्थना गरेका छन्।
बिहीबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दशैंलाई सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा स्मरण गरे। उनले मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्परालाई हाम्रो सांस्कृतिक सम्पदाको अमूल्य हिस्सा भनेका छन्।
“यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,” शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
राष्ट्रपति पौडेलले नेपाली समाजमा धार्मिक र सांस्कृतिक विविधता बीच आपसी सम्मान र समझदारी अझै सुदृढ बनाउन पर्वहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्तो अवसरले पारिवारिक एवं सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सघाउने विश्वास पनि व्यक्त गरे।
राष्ट्रपतिको यो सन्देश हाल देश विविध राजनीतिक, सामाजिक र आर्थिक चुनौतीहरूमाझ रहेकै बेला आएको हो, जसले राष्ट्रिय एकता र सकारात्मक ऊर्जा प्रवाहमा टेवा पुग्ने अपेक्षा गरिएको छ।