प्रधानमन्त्री अनुपस्थित भएपछि संसद अवरुद्ध
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी गरेपछि विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।
विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै नाराबाजी गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठक अवरुद्ध भएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका थिए । थापाले प्रधानमन्त्री बालेन शाहको उपस्थिति अनिवार्य रहेको बताउँदै विपक्षीले दिनभर जिम्मेवारीपूर्वक संसद चल्न दिएको तर जवाफ दिने समयमा प्रधानमन्त्री अनुपस्थित हुनु अस्वीकार्य भएको बताइन् ।
उनले प्रधानमन्त्री उपस्थित नभएसम्म संसद अवरोध जारी रहने चेतावनीसमेत दिइन् । त्यस्तै, एमालेका प्रमुख सचेतक ऐन महरले पनि प्रधानमन्त्री कम्तीमा जवाफ दिनका लागि भए पनि सदनमा उपस्थित हुनुपर्ने धारणा राखे ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले विपक्षीले धैर्य गरेर सदन सञ्चालनको वातावरण बनाएको भए पनि सत्तापक्षले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाए । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सत्तापक्षकै सांसदका गुनासा सम्बोधन गर्न पनि प्रधानमन्त्री संसदमा आउनुपर्ने बताए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई भाषण गर्न नभई नीति तथा कार्यक्रममाथि जवाफ दिनका लागि सदनमा खोजिएको बताएका थिए । लगातारको विरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।







