मध्यम वर्ग बढाउने सरकारको घोषणा, शिक्षा र रोजगारीमा विशेष जोड

User Image Prime TV News एक घण्टा अगाडि
Image of मध्यम वर्ग बढाउने सरकारको घोषणा, शिक्षा र रोजगारीमा विशेष जोड

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षमा मध्यम वर्ग विस्तार गर्ने घोषणा गरेको छ । संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सुधार गरेर मध्यम वर्ग बढाउने योजना सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले सबै नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पोषण र सीपमा समान पहुँच दिने सरकारको लक्ष्य रहेको बताए । उनले आर्थिक रूपमा कमजोर नागरिकका लागि सामाजिक सुरक्षा प्रणालीलाई थप बलियो बनाइने पनि बताएका छन् ।

सरकारले कृषि, साना उद्योग र स्वरोजगारलाई प्राथमिकता दिने जनाएको छ । साथै, युवालाई सीपमूलक र रोजगारमुखी शिक्षा दिई रोजगारी सिर्जना गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

त्यस्तै, स्टार्टअप, नयाँ व्यवसाय र उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष वित्तीय व्यवस्था गरिने अर्थमन्त्री वाग्लेले बताए । उनले प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाइने र शिक्षा प्रणालीलाई श्रम बजारसँग जोडिने बताए ।

सरकारले स्वास्थ्य बीमा र सामाजिक सुरक्षा प्रणालीलाई पनि सुधार गर्ने योजना बनाएको छ । यसबाट नागरिकको स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुरक्षा बलियो हुने सरकारको दाबी छ ।

अर्थमन्त्री वाग्लेले समावेशीकरणलाई केवल प्रतिनिधित्वमा सीमित नराखी आर्थिक अवसर र सम्मानजनक सहभागितासँग जोड्ने नीति लिइने बताएका छन् ।