प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौ । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम सर्वसम्मतिले अनुमोदन भएको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका थिए ।जवाफपछि सभामुखले थप स्पष्टीकरणका लागि समय दिए पनि कुनै सांसदले त्यसको उपयोग गरेनन् ।

यसअघि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा विरोध जनाएका थिए । विरोधकै क्रममा केही सांसद बैठकबाट बाहिरिएका थिए भने केही सांसद उभिएर विरोध गरिरहेका थिए ।

सभामुख अर्यालले विपक्षी सांसदहरूले दर्ता गरेका संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर विपक्षी सदस्यहरू विरोधमै रहेपछि ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतदानका क्रममा बहुमतले सबै संशोधन प्रस्ताव अस्वीकृत भएका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलका ३५ सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिए । यसअघि वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।