पश्चिमी वायुको प्रभाव कायम, देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी भूभागमा भने आंशिक बदली देखिएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा बदली रहने अनुमान गरिएको छ । ती क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहनेछ भने अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा रातिको समयमा पनि चट्याङ्गसहित वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । मौसमविद्ले चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् ।







