जेनजी अगुवाहरूले बहिष्कार गरे संविधान संशोधन छलफल
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । संविधान संशोधनबारे प्रधानमन्त्री कार्यालयले बोलाएको छलफलमा जेनजी अगुवाहरू सहभागी नहुने भएका छन् । जेनजी अगुवा उपार्जुन चाम्लिङका अनुसार सरकारले आज सिंहदरबारमा छलफलका लागि बोलाएको थियो । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले २९ जना प्रतिनिधिलाई पत्र पठाएर निमन्त्रणा गरेको थियो ।
तर, छलफलको उद्देश्य र विषय स्पष्ट नभएको भन्दै जेनजी अगुवाहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनीहरूले यो कार्यक्रम केवल 'कर्मकाण्ड' जस्तो मात्रै भएको निष्कर्ष निकालेका छन् । बिहीबार रातिसम्म भएको आन्तरिक छलफलपछि उनीहरूले सिंहदरबार नजाने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयस्थित सगरमाथा हलमा शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म छलफल गर्ने तयारी गरिएको थियो । सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आशिम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल बनाएको छ । उक्त कार्यदलले यसअघि राजनीतिक दल, संविधानविद् र पत्रकारहरूसँग सुझाव लिइसकेको छ ।
अन्तिम चरणमा जेनजी अगुवाहरूसँग पनि सुझाव लिन खोजिए पनि उनीहरूले छलफलमा सहभागी नहुने निर्णय गरेका हुन् ।







