प्रधानमन्त्री थप शक्तिशाली, ४८ वटा कार्यक्षेत्र तोकियो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले ‘कार्य विभाजन नियमावली, २०८३’ जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यक्षेत्र व्यापक रूपमा विस्तार गरेको छ ।
नयाँ नियमावलीसँगै प्रधानमन्त्री कार्यालयलाई राज्यका मुख्य संयन्त्रहरूको अनुगमन, समन्वय र निर्देशन गर्ने शक्तिशाली केन्द्रका रूपमा अघि सारिएको छ ।
नेपालको संविधानको धारा ८२ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्ले नयाँ नियमावली लागू गरेको हो । यससँगै यसअघिको ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४’ खारेज गरिएको छ ।
नयाँ नियमावलीअनुसार प्रधानमन्त्री कार्यालयले अब ४८ वटा कार्यक्षेत्र हेर्नेछ । यसमा मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनदेखि राष्ट्रिय सुरक्षा, सुशासन, मानव अधिकार, भ्रष्टाचार नियन्त्रण, विपद् व्यवस्थापन, साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मका विषय समावेश गरिएको छ । सरकारले प्रधानमन्त्री कार्यालयलाई मन्त्रालयहरूको कार्य अनुगमन, नीति निर्माण, राष्ट्रिय योजना, अन्तरप्रदेश समन्वय तथा संघीय शासन प्रणाली सञ्चालनको मुख्य केन्द्रका रूपमा जिम्मेवारी दिएको छ । त्यस्तै, सूचना प्रविधि, डिजिटल शासन, डाटा सुरक्षा, साइबर सुरक्षा र एआईसम्बन्धी नीति तथा नियमनको जिम्मा पनि प्रधानमन्त्री कार्यालयलाई दिइएको छ । नयाँ नियमावलीअनुसार प्रधानमन्त्री कार्यालयले राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, लगानी बोर्ड, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय तथ्यांक कार्यालय लगायत निकायको कामसमेत हेर्नेछ । यसैगरी, अदालतका फैसला कार्यान्वयन अनुगमन, विपद् व्यवस्थापन समन्वय, प्रधानमन्त्री केन्द्रीय विपद् सहायता कोष सञ्चालन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अनुगमनको जिम्मेवारी पनि प्रधानमन्त्री कार्यालयमै राखिएको छ । सरकारको नयाँ व्यवस्थाले प्रधानमन्त्री कार्यालयलाई राज्य सञ्चालनको केन्द्रिय शक्ति बनाउने प्रयास गरेको देखिएको छ ।







