निजी विद्यालय सञ्चालकहरूको चेतावनी : ‘१८ भदौदेखि देशभर विद्यालय बन्द गर्ने’


काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालक संस्थाहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा रहेका केही प्रावधान तत्काल संशोधन नगरे आन्दोलन चर्काउने स्पष्ट सन्देश दिएका हुन्। शिक्षा मन्त्रालयले संसद्मा पेस गरेको विधेयकमा रहेका निम्न प्रावधानहरूलाई निजी विद्यालय सञ्चालकहरूले अस्वीकार्य भनेका छन्
कम्पनी ऐनअनुसार दर्ता भएका निजी विद्यालयलाई गैरनाफामूलकु संस्था बनाउने , पूर्ण छात्रवृत्तिको प्रावधान, पोशाक, पुस्तक, यातायात, खाना–खाजाजस्ता सामग्रीहरू अनिवार्य रूपमा विद्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था, छात्रवृत्ति वितरणको अधिकार विद्यालयबाट हटाउने सम्भावना लगाएतका प्रावधान हटाउनु पर्ने माग राखेका छन् ।
संयुक्त आन्दोलनको कार्यक्रम अन्तर्गत १३ भदौ गते जिल्ला सदरमुकाम र काठमाडौं उपत्यकामा खबरदारी सभा, १६ भदौ गते स्कुल बसहरूमा कालो झण्डा र ब्यानरसहित ज्याली प्रदर्शन, १८ भदौ गते बृहत् खबरदारी सभा र १८ भदौपछि माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने सम्मका कार्यक्रमहरु रहेका छन् ।
शिक्षा विधेयक संसद्मा छलफलको चरणमा रहेकाले यसबारे बहस चर्कँदै गएको छ।