प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार भेट


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसरमा ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारहरूसँग भेट गरी समवेदना व्यक्त गरेकी छन्।
दसैंको मुख्य दिन टीका नलगाई सहिद परिवारप्रति सम्मान प्रकट गर्ने निर्णय अनुसार, बिहीबार प्रधानमन्त्री कार्कीले काठमाडौं वनस्थलीमा बसोबास गर्दै आएका बागलुङका सौरन किशोर श्रेष्ठको परिवारसँग भेट गरिन्।
त्यसपछि उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको घर र कीर्तिपुरस्थित मैत्रीनगरमा बुद्धिबहादुर तामाङको परिवारमा पुगेर भेटघाट गरेकी हुन्। प्रधानमन्त्री सचिवालयका अनुसार, कार्कीले सहिदका परिवारजनसँग व्यक्तिगत कुराकानी गर्दै राज्यको तर्फबाट गहिरो समवेदना प्रकट गरिन्।
प्रधानमन्त्री कार्कीले यसअघि नै 'जेनजी' आन्दोलनमा मृत्यु भएका नागरिकहरूको स्मृतिमा यस वर्ष दसैंमा टीका नलगाउने घोषणा गरेकी थिइन्।
उनको यो कदमलाई जनआन्दोलनका पीडितप्रति ऐक्यबद्धता प्रकट गर्ने जिम्मेवार नेतृत्वको प्रतीकका रूपमा हेरिएको छ।