ट्रम्प र सीबीच छलफल, ठूलो व्यापार सम्झौता भने भएन
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा ठूलो व्यापार सम्झौता हुन सकेन ।
बीबीसीका अनुसार दुवै नेताबीच व्यापार, प्रविधि र ट्यारिफका विषयमा छलफल भए पनि ठोस सहमति भने हुन नसकेको हो । अमेरिका र चीनबीच गत वर्ष व्यापार युद्ध कम गर्ने सहमति भएको थियो ।
त्यसपछि अमेरिकाले चिनियाँ सामानमा थप कर लगाउने योजना रोकेको थियो भने चीनले दुर्लभ खनिज निर्यातमा लगाएको कडाइ केही घटाएको थियो ।
अब दुवै देशले व्यापारिक विवाद व्यवस्थापन गर्न ‘बोर्ड अफ ट्रेड’ बनाउने सहमति गरेका छन् । यसले भविष्यमा व्यापारसम्बन्धी विवाद कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनले बोइङ विमान खरिद गर्न सक्ने र अमेरिकी कृषि तथा ऊर्जा उत्पादन आयात बढाउन सक्ने बताएका छन् ।
ट्रम्प चीन भ्रमणमा अमेरिकी ठूला व्यवसायीहरूलाई पनि साथमा लिएर पुगेका छन् । टोलीमा टेस्लाका सीईओ एलन मस्क र एनभीडीयाका सीईओ जेन्सेन हुआङ समावेश जस्ता प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरू सहभागी छन् । विशेषगरी एआई र सेमिकन्डक्टर चिप्सको विषय अहिले अमेरिका–चीन सम्बन्धको संवेदनशील मुद्दा बनेको छ । अमेरिकाले चीनमाथि उन्नत प्रविधिमा पहुँच सीमित गर्ने नीति लिँदै आएको छ ।






